विश्वकपमा स्विडेनको विजयी सुरुवात

स्विडेनले फिफा विश्वकपमा विजयी सुरूवात गरेको छ ।
सोमवार विहान भएको खेलमा ट्युनिसियालाई ५–१ ले हराउँदै प्रतियोगितामा विजयी सुरूवात गरेको हो ।
मेक्सिकोको इस्टाडियो मोन्टेरे रंगशालामा भएको खेलमा स्विडेनलाई जिताउन यासिन अयारीले दुई गोल गर्दा अलेक्जान्डर इसाक, भिक्टर जियोकेरेस र म्याथिस स्भानबर्गले एक–एक गरे ।
पराजित टोलीका लागि ओमार रेकिकले एक एक गोल फर्काए ।
खेल सुरु भएको सातौं मिनेटमा यासिन अयारीले गोल गर्दै स्विडेनलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि ३० औं मिनेटमा जियोकेरेसको पासमा इसाकले गोल थप्दा स्विडेन २–० ले अघि बढ्यो ।
तर, पहिलो हाफको अन्त्यतिर ४३ औं मिनेटमा हनिबल मेर्ज्बीको पासमा रेकिकले ट्युनिसियाका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
दोस्रो हाफको ५९ औं मिनेटमा इसाकको पासमा जियोकेरेसले गोल गर्दा स्विडेन ३–१ ले अघि बढ्यो ।
त्यस्तै, इसाककै पासमा स्भानबर्गले गोल गर्दा स्विेडन ४–१ ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको छैटौं मिनेटमा लुकास बेर्गभलको असिस्टमा यासिनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा स्विडेन ५–१ ले विजयी रह्यो ।
फराकिलो जितसंगै समूह ‘एफ’ मा स्विडेनले ३ अंक जोडेको छ ।
बुकमार्क गर्न
