बेङ्गलुरुले जित्यो १९ औं संस्करणको आईपिएल
गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरुले लगातार दोस्रो सिजन भारतीय लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता जित्न सफल भयो ।

भक्तपुर । रोयल च्यालेन्जर्स बेङ्गलुरूले १९ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि जितेको छ ।
आईतवार राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरूले भारतीय प्रतिष्ठत फ्रेन्चाइज प्रतियोगिताको उपाधि जितेको हो ।
योसंगै साविक विजेता बेङ्गलुरूले उपाधि सफलतापूर्वक रक्षा गर्न सफल बन्यो ।
भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा आएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५५ रन जोड्यो ।
गुजरातका लागि वासिन्टन सुन्दरले अविजित ५० रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै निसान्त सिन्धुले २०, जस बटलरले १९, अर्शद खानले १५, साइ सुदर्शनले १२, कप्तान शुभमन गिलले १०, राशिद खान, जसन होल्डर र राउल तेवातियाले समान ७–७ रनको बनाउँदा कागिसो राबडा ३ रनमा अविजित रहे ।
बेङ्गलुरूका लागि राशिक सलमले ३, भुवनेश्वर कुमार र जोश हज्लेउडले २–२ तथा कुर्णाल पाण्डेयाले १ विकेट लिए ।
दोस्रो इनिङ्ग्समा १५६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बेङ्गलुरूले १८ ओभरमा ५ विकेट गुमाउँदै १६१ रन जोड्यो ।
बेङ्गलुरूलाई जिताउन भेट्रान खेलाडी विराट कोहोलीले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै अविजित ७५ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै, अर्का ओपनर भेनकतेश अैय्यरले ३२, टिम डेभिडले २४, कप्तान रजत पातिदारले १५ तथा देवदुत पादिक्कल र कुर्णाल पाण्डेयाले १–१ रनको योगदान गरे ।
गुजरातका लागि राशिद खानले २ विकेट लिँदा मोहम्मद सिराज, कागिसो राबडा र अर्शद खानले १–१ विकेट लिए ।
बुकमार्क गर्न
