पिएसजीले रक्षा गर्यो च्याम्पियन्स लिगको उपाधि
साविक विजेता पिएसजीले टाइब्रेकरमा ४–३ ले आर्सनललाई पन्छाउँदै उपाधि रक्षा गर्न सफल बन्यो ।

भक्तपुर । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ ।
सनिवार राति भएको खेलमा इंग्लिस क्लब आर्सनललाई टाइब्रेकरमा ४–३ ले पन्छाउँदै साविक विजेतासमेत रहेको पिएसजीले युरोपेली क्लब फुटबलको लोकप्रिय प्रतियोगिताको उपाधि रक्षा गरेको हो ।
हंगेरीको बुडापेस्टस्थित पुकास एरिना रंगशालामा भएको खेलमा पिएसजीलाई उपाधि दिलाउन गोन्कालो रामोस, डिजायर डौए, आचरफ हाकिमी र लुकास बेराल्डोले पेनाल्टीमा गोल गरे । नुनो मेन्डिसले भने पेनाल्टी चुकाए ।
आर्सनलका लागि भने भिक्टर जियोकेरेस, डिक्लेन राइस र ग्राबियल मर्टिलेनीलेमात्रै गोल गर्न सके । इबेरेची एजे र ग्राबियलले भने पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसअघि खेल सुरू भएको छैटौं मिनेटमा आर्सनलले काइ हाभार्टेजको गोलमार्फत् १–० को अग्रता बनायो ।
तर, दोस्रो हाफको ६५ औं मिनेटमा फ्रान्सेली टोलीका लागि ओसमाने डेम्बेलेले पेनाल्टीमा गोल फर्काउँदा खेल १–१ को बराबरी आयो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट लम्बियो ।
त्यसमा पनि थप गोल नभएसंगै निर्णय टाइब्रेकरबाट भयो ।
बुकमार्क गर्न
