गोल वर्षा गर्दै विश्वकपमा जर्मनीको शान्दार सुरुवात
नवप्रवेशी टोली क्युरासाउलाई ७–१ को फराकिलो गोलअन्तरले हराउँदै चारपल्टको विश्व विजेता जर्मनीले २३ औं संस्करणको विश्वकपमा विजयी सुरुवात गरेको छ ।

उपाधि दावेदार जर्मनीले फिफा विश्वकपमा क्युरासाउमाथि शान्दार जित हासिल गरेको छ ।
आईतवार राति गोल वर्षा भएको खेलमा चारपल्टको विश्व विजेता जर्मनीले डेब्यु खेल खेलिरहेको क्युरासाउमाथि ७–१ को फराकिलो एकपक्षीय जित हासिल गरेको हो ।
संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित हौस्टन स्टेडियममा भएको खेलमा बलियो जर्मानीलाई जिताउन काइ हाभार्टेजले दुई गोल गर्दा फेलेक्स एनमेचा, निको स्कोलोटरबेक, जमाल मुसियाला, नाथानेल ब्राउन र डेनिज उन्दभले समान एक–एक गोल गरे ।
पराजित क्युरासाउका लागि भने लिभानो कोमेनेन्सियाले गरेको गोल सान्तोनामा परिणत भयो ।
खेल सुरु भएको छैटौं मिनेटमा फ्लोरियान विर्ट्जको पासमा फेलेक्स एनमेचाको गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए ।
तर, २१ औं मिनेटमा कोमेनेन्सिया गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
खेलको ३८ औं मिनेटमा नाथानेल ब्राउनको पासमा निकोले गोल गर्दा जर्मनी २–१ ले अघि बढ्यो ।
त्यसपछि खेल एकतर्फी जर्मनीको पक्षमा रह्यो ।
पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीमा हार्भाटेजले गोल गर्दा जर्मनी ३–१ ले अघि रह्यो ।
दोस्रो हाफ सुरु भए लगत्तै ४७ औं मिनेटमा जोसुआ किमिचको पासमा मुसियालाले गोल गर्दा जर्मनी ४–१ ले अघि बढ्यो ।
त्यस्तै, ६८ औं मिनेटमा उन्दभको असिस्टमा ब्राउनले गोल गर्दा जर्मनी ५–१ को फराकिलो अग्रतासहित अघि बढ्यो ।
खेलको ७८ औं मिनेटमा किमिचको पासमा उन्दभले गोल थप्दा जर्मनी ६–१ ले अघि बढ्यो ।
यता, निर्धारित समयको अन्त्यतिर ८८ औं मिनेटमा उन्दभको पासमा हार्भाटेजले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा जर्मनी ७–१ ले विजयी रह्यो ।
फराकिलो जितसंगै जर्मनीले समूह ‘इ’ मा ३ अंक जोडेको छ ।
बुकमार्क गर्न
