आईपिएल : क्वालिफायर खेल सुरु हुँदै
साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स प्लेअफ्समा पुग्न सफल रहे ।

भक्तपुर । भारतमा जारी १९ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को प्लेअफ्स समिकरण आज राति (मंगलवार) देखि सुरु हुँदैछ ।
कुल १० वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगितामा लिग चरणको शीर्ष चारमा अटाउन सफल टोलीहरुले प्लेअफ्समा स्थान बनाए ।
लिग चरणका १४ खेलमध्ये ९ मा जित र ५ मा हार बेहोर्दै रोयल च्यालेन्जर्स बेङ्गलुरुले १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहन सफल भयो ।
यता, गुजरात टाइटन्स र सनराइजर्स हैदरावादको पनि समान १४ खेलमा समान ९ मा जित र ५ मा हारसहित १८–१८ नै अंक भए तापनि नेट रननेटमा पछि पर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
त्यस्तै, १४ खेलबाट ८ मा जित र ६ मा हार बेहोरेको राजस्थान रोयल्सले १६ अंक जोडेर तालिकाको चौथौं स्थानमा रहँदै प्लेफ्सका लागि स्थान बनायो ।
तालिकाको पाँचौंदेखि दशौंमा रहेका दिल्ली क्यापिटल्स, कोलकता नाइट राइडर्स, चेन्नेई सुपर किंग्स, मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्लेअफ्सअन्तर्गत पहिलो क्वालिफायर खेलमा आज तालिकाको शीर्ष दुईमा रहेका बेङ्गलुरु र गुजरात प्रतिस्पर्धामा उत्रिदैछ ।
भारतको र्धमशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एशोसियसन रंगशालामा हुने खेल नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने तालिका रहेको छ ।
क्वालिफायर १ खेलमा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले क्वालिफायर २ खेल खेल्नेछ ।
त्यसैगरी भोलि अर्थात् बुधवार तालिकाको तेस्रो र चौथौं स्थानमा रहेका हैदरावाद र राजस्थानले इलिमिनेटर खेल खेल्नेछ ।
उक्त खेल जित्ने टोली क्वालिफायर २ मा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
क्वालिफायर २ खेल शुक्रवार राति हुनेछ ।
उक्त खेलको विजेता टोलीले क्वालिफायर १ का विजेता टोलीसंग उपाधिका लागि आईतवार राति प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
बुकमार्क गर्न
